समाचार अपडेट
 
‘र’को रोहवरमा देश बाँड्न राजी
 
काठमाडौं । हामी आफैं मिल्न नसक्ने, कसैले मिलाइदिनुपर्ने भूपी शेरचनको चर्चित कवितालाई सार्थक तुल्याउँदै चार वर्षसम्म सहमतिमा जुट्न नसकेका राजनीतिक दलहरु हिजोबाट अचानक उधारो सहमतिमा पुगेका छन् । तर, यो सहमति जुटाइदिन भारतीय गुप्तचर संस्था ‘र’ का प्रमुख सञ्जीव त्रिपाठी आफ्ना क्षेत्रीय अधिकारीसहित काठमाडांैको बानेश्वरलाई मुकाम बनाई कसरी सक्रिय भएका थिए भन्ने चाँहि धेरै नेपालीले अहिलेसम्म पत्तो पाएका छैनन् ।

त्रिपाठी आफ्ना क्षेत्रीय मामिला हेर्ने अधिकारीसहितको चुस्त टोली लिएर कतै परिचय नखुलाई आइतबार नेपाल छिरेका हुन् । कुनै पनि विमानस्थलमा वास्तविक विवरण नदिई सुरक्षा निकायले समेत पत्तो नपाउने गरी काठमाडौं आइपुगेका उनले दिनहुँजसो राजनीतिक दलका नेताहरुसित सघन संवाद गरेपछि मंगलबार १२ बुँदेपछिको अर्काे ‘ऐतिहासिक सहमति’ भएको हो । ‘र’कै पूर्वप्रमुख जिएस बाजपेयीका छोरीज्वार्इं सञ्जीव उत्तरप्रदेशको बरेलीका बासिन्दा हुन् । उनले विदेशमा सक्रिय सिख पृथकतावादीहरुलाई स्वदेश फर्काएर वार्तामा बसाउने भूमिकासमेत निर्वाह गरेका थिए । नेपालको छोटो बसाइमा त्रिपाठीले कांग्रेस, एमालेका केही नेतालाई घरघरमा गएर भेटेका थिए भने माओवादीका केही शीर्ष नेतालाई होटल र बाहिरी लोकेसनमै बोलाएका थिए । उनले प्रचण्डलाई परिस्थिति तपाईंको पक्षमा देखिन थालेकाले जथाभावी नबोल्नुहोला भन्ने सुझावसमेत दिएको बताइन्छ ।

राजनीतिक दलहरुले भारतीय पाहुनाको सद्भाव र सल्लाहमा हिजो महत्वपूर्ण सहमति गरेपछि संविधान जारी हुने सम्भावना बढे पनि मुलुक आन्दोलन र अशान्तिबाट तत्काल मुक्त भैहाल्ने संकेतचाँहि देखिएको छैन । मधेसी मोर्चाले प्रदेश विभाजनमा नोट अफ डिसेन्ट कायमै राखेको छ भने आदिवासी जनजाति, थारुलगायतका समुदायको असन्तुष्टि सडकमै पोखिन लागेको छ । प्रदेशहरुको नामांकन नगरी संविधान जारी गर्दा भावी व्यवस्थापिका संसद पनि यही विवादमा वर्षौंसम्म रुमल्लिइरहने र मुलुकले गति लिन नसक्ने अवस्था उत्पन्न हुन सक्छ । दलहरुले ३ सय ११ सदस्यीय तल्लो सदन र ६० सदस्यीय माथ्लो सदन गरी ३ सय ७१ सदस्यीय संसद बनाउने सहमति गरेका छन् ।

तल्लो सदनमा १ सय ७१ जना प्रत्यक्ष चुनाव बाट र १ सय ४० समानुपातिकबाट चुनिने छन् भने माथ्लो सदनमा ५० जना प्रदेशबाट र १० जना मनोनित गर्ने सहमति गरिएको छ । उता प्रत्यक्ष चुनावबाट छानिएको राष्ट्रपति राष्ट्रप्रमुख मात्रै रहने र संसदले छानेको प्रधानमन्त्री कार्यकारी प्रमुख रहने अनौठो मिश्रित प्रणाली अपनाइने भएको छ । राष्ट्रपति कार्यकारी प्रमुख नरहने भएपछि उसलाई प्रत्यक्ष चुनावबाट छानिरहनु जरुरी छ कि छैन भन्ने प्रश्न यसले उठाएको छ । सम्झौता र मिलापका नाममा दलहरुले रातारात अनौठो ‘खिचडी व्यवस्था’को सहमति गरेको देखिन्छ । सैद्धान्तिकरुपमै दुईधारमा रहेका राजनीतिक दलहरु संविधानसभाको चुनाव भएको ४ वर्षसम्म ६०१ जनाको जम्बो जत्थालाई बानेश्वरमा घाम तपाएर झगडा गरेरै बसे । आखिर यिनै विषयमा सहमति गर्नु नै रहेछ भने अहिलेसम्म किन सहमति भएन र अन्तिम घडीमा आएर सबै दलहरु एक देखिए ? मधेसवादीहरुले पनि असहमतिका बावजुद संविधान निर्माण कार्यलाई किन बाधा नगर्ने र आन्दोलन नगर्ने प्रतिवद्धता जनाए ? यो दिल्लीमा २०६२÷६३ को जनान्दोलनअघि सात दल र माओवादीबीच भएको १२ बुँदे सम्झौताकै एउटा सिलसिला हुन सक्छ ।

भारतले बाह्रबुँदेमा जस्तै पहल नगरिदिएको भए यसरी दलहरु मिल्ने थिए कि थिएनन् ? यसैबाट थाहा हुन्छ, चार–चार वर्षसम्म कसैले नमिलाइदिएका दलहरु अहिले आएर मिलेका छन् । मिल्नु रामै्र हो, तर, पहिल्यै आफैं यसरी मिलिदिएका भए राम्रो हुने थियो, जनता र राष्ट्रले दुःख पाउने थिएनन्, विदेशीलाई पनि बद्नामीको भारी बोकी–बोकी नेपालसम्म धाएर पसिना बगाउनुपर्ने थिएन ।

प्राप्त प्रतिक्रियाहरु ( 0 )
  यसमा तपाईको प्रतिक्रिया
(रोमनबाट युनिकोड नेपालीमा लेख्नुहोस्)
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
MEMBER LOGIN
Login
Password
 
  समाचार अपडेट
नाति खेलाउँदै प्रचण्ड डाँडातिर
उतैको कुराले लाजिम्पाटमा उल्कापात
पत्रकारका नाममा अनेकन परिपञ्च
'कलंकको टीका' भन्दै सिंहदरबारमा कचकच
'हाम्रो-हाम्रो' भनिँदा मान्यज्यू हैरान