काठमाडौं । बारा जिल्लाका माओवादी इञ्चार्जसमेत १९ दलका नेता र २२ जना निजामती कर्मचारीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेपछि अभियुक्तलाई जोगाउने जिम्मेवारी प्रधानमन्त्री डा. बाबुराम भट्टराई आफैंले लिएका छन् । एमाओवादी बारा इन्चार्ज हरि चौलागाई (लालकिरण) लाई गत शुक्रबार पार्टीले यही अभियोगमा कारवाही गरेपछि चौलागाईले सोझै प्रधानमन्त्रीसित सम्पर्क गरी आफूलाई बचाइदिन आग्रह गरेका छन् भने हिजो जिल्लामा उनले पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीको पक्ष लिएकैले आफूमाथि कारवाही भएको तर्क गरेका छन् ।
बारा जिविसमा भ्रष्टाचार भएको मुद्दामा स्थानीय विकास अधिकारी (एलडीओ) मुरारी नेपाल र इन्जिनियर मेघु साह यतिबेला जेलमा छन् । जिल्लाका ११ सभासद्को समेत करिब १ करोड ४५ लाख जिविसको रकम हिनामिना गरेको आरोपमा विशेष अदालतले सजाय तोकेपछि नेपाल र साहले धरौटीमा छुट्न खोजे पनि अनुमति नपाउ“दा जेल बस्नु परेको हो । यस मुद्दामा माओवादीका भट्टराईपक्षीय निवर्तमान इन्चार्ज चौलागाईसहित १९ दलका जिल्ला नेताहरू तानिएका छन् भने २२ कर्मचारीले पनि मुद्दा खेपिरहेका छन् । यसरी मुद्दा लागेपछि शुक्रबारमात्रै पार्टीले चौलागाईलाई हटाएर संस्थापन पक्षका सभासद् जयराम दहाललाई इञ्चार्ज तोकेको हो । तर, चौलागाईले भने आफूमाथि प्रचण्ड पक्षले षड्यन्त्र गरेको भनी प्रधानमन्त्रीस“ग गुनासो गर्दै यसलाई लाइन संघर्षसित जोडेका छन् । प्रधानमन्त्रीले उनलाई बचाउन लागि पर्ने आश्वासन दिएको स्रोत बताउ“छ ।
संस्थापन पक्षका केही नेताले जिविसमा सबै दलले मिलिजुली भ्रष्टाचार गरेको बताएका छन् । हेटौंडाको ‘एभोकाडो’ होटलमा बैठक बसेर रकम बा“डचुड गरेको उनीहरूको तर्क छ । माओवादी नेता चौलागाईले त्यही रकमबाट पालुङटार बैठकमा कार्यकर्ता लगी भोजपुरामा भट्टराईको बहुमत देखाएको आरोपसमेत संस्थापन पक्षको छ ।