काठमाडौं । सहयोगको खोजीमा विपक्षी दलका नेताको घर पुगेका प्रधानमन्त्री ती नेताहरूसँग विवाद चर्कंदै गएपछि 'मैले किन राजीनामा दिने ? कुर्सी किन छाड्ने ?' भन्दै फर्केका छन् । प्रसंग डल्लुमा गत बिहीबार एमाले अध्यक्ष झलनाथ खनाल र डा. बाबुरामबीच भएको संवादको हो । स्रोतका अनुसार कुराकानीको सुरुमै झलनाथले 'यत्रो विद्वान् भनेको मान्छे तपाईंले त मूर्खता पो गर्नुभयो । संविधानको कुन धाराअन्तर्गत चुनाव गराउनुहुन्छ ? सबै बर्बाद गराउनुभो तपाईंले ।' भन्दै तीतो पोखेका थिए ।
एमाले अध्यक्षलाई फकाउन गएका बाबुरामले शुरुमा नम्र र भद्र तरिकाले नै जवाफ दिए- 'के गर्नु, सबै कुरामा विचार पुगेन, कता परियो-परियो, अत्तोपत्तो भएन । अब संविधान संशोधन गरौँ, संसद् छैन । मुलुक ब्ल्याक होलमा गयो । यस्तो होला भन्ठानिएन । राष्ट्रिय सहमतिका लागि के गर्नुपर्छ म तयार नै छु, तपाईंले सहयोग गर्नुपर्यो ।' सबै कुराका लागि तयार भएर आएछन् बाबुराम भन्ने बुझेर झलनाथले पनि स्वाभाविक रूपमा उनलाई बाटो देखाइदिए, 'सबैभन्दा पहिले तपाईंले छाड्नुपर्छ । नयाँ सरकार बनाउनुपर्यो । यसनिम्ति दलहरूलाई सहमतिको आहृवान गर्नुस् ।' झलनाथले सरकार छाडेर बाटो खोल्ने सुझाव दिनेबित्तिकै बाबुरामको पारो तात्यो र उनी माथि उल्लिखित जवाफ दिएर फर्किए । आखिर नेताहरूको भेटमा कुरा मिल्नु त कता-कता झन् बिगि्रयो ।