काठमाडौं । संविधानसभा विघटनपछि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सबैको गुन तिरे वा तिरेनन्, तर बाबुरामलाई हटाउने कुन माइका लाल ? भन्दै आएका (कुनै सरकारी ओहोदामा नरहेका) व्यक्तिलाई सशस्त्र प्रहरीका सुरक्षाकर्मी थपेर राम्रो गुन लगाएका छन् ।
पूर्व अन्तरिम सांसद तथा भारत–नेपाल ओहोर–दोहोर गरिरहने कांग्रेस कार्यकर्ता अमरेशकुमार सिंहलाई सोमबार बेलुकादेखि प्रधानमन्त्रीले ३ जना सुरक्षाकर्मी थपिदिएका छन् । पूर्व गृहमन्त्री एवं निवर्तमान उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाकै पालामा अमरेशले प्रयोग गरिरहेको नेपाल प्रहरीको गाडी, चालक र एकजना सुरक्षाकर्मी कसरी फिर्ता गर्ने भन्ने भैरहेका बेला बाबुराम सरकारले उनको सुरक्षाका लागि ३ जना सशस्त्र प्रहरी थप्ने निर्णय गरेको हो ।
सिंहलाई त्यस्तो दिन सुरक्षाकर्मी थपिएको छ, जुन दिन गृह मन्त्रालयमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको बिराटनगरस्थित निवासबाट १० जना सशस्त्र सुरक्षाकर्मी झिक्नेबारे छलफल चल्यो । र, त्यही दिन स्वर्गीय पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको निवासमा रहेका ५ प्रहरीलाई समेत फिर्ता गर्ने या ट्रष्टको सुरक्षार्थ खटाउनेबारे अलमल सुरु भयो । केही महिनाअघि सर्वाेच्च अदालतले मरिसकेका भिआइपीलाई पनि अंगरक्षक दिइएको भन्दै फिर्ता गर्न सरकारलाई निर्देश गरेको थियो ।
यता न्यायाधीश बमको हत्यापछि सर्वाेच्चका १५ न्यायाधीशलाई १ कमाण्डर र ४ सिपाहीको नफ्रीमा सुरक्षा दिने निर्णय सरकारले गरेको छ । पूर्व न्यायाधीशहरुलाई पनि सुरक्षाकर्मी दिइने भनिए पनि चारआना जग्गामा घर बनाएका वा डेरामा बसिरहेका न्यायाधीशहरुले राख्ने ठाउँ नभएर सुरक्षाकर्मी लिन मानेका छैनन् ।
उता सर्वाेच्चको आदेशपछि अंगरक्षक फिर्ता गरेका पूर्वगृहसचिव उमेश मैनालीलाई धम्की आएपछि अस्ति सोमबारदेखि नै सुरक्षा दिने निर्णय सरकारले गरेको छ ।
उमेशका दाजु श्याम मैनाली पनि सचिव छन् । तर, सुशील कोइरालाभन्दा चर्का कांग्रेसका रुपमा चिनिने दाजु श्यामको तुलनामा उमेश शालीन भनेर चिनिन्छन् ।
त्यस्तै अर्काे समाचारअनुसार जनजाति वा अन्य जातिलाई भड्काउने गरी कुनै अनिष्ट हुनसक्ने डरमा सरकारले जनजाति नेता आङ्काजी शेर्पा र खस नेता दिलबहादुर क्षेत्रीमाथि सुरक्षा निगरानी बढाउने निर्णय गरेको बुझिएको छ ।