काठमाडौं । एकापसमा ‘लभ’ गरेका केटाकेटीले जस्तै व्यवहार देखाएका छन् हिजो माओवादी अध्यक्ष प्रचण्ड र भारतीय राजदूत जयन्तप्रसादले । यसरी एकापसमा घुर्की देखाउने तहमा दुईजना किन र कसरी पुगे भन्नेचाँहि विश्लेषण हुनै बाँकी छ ।
हिजो लाजिम्पाटमा मधेसी मोर्चासँगको बैठक सकिनासाथ राजदूत जयन्त प्रचण्डलाई भेट्न गएका थिए । त्यहाँ उनले प्रचण्डलाई भने– ‘आइएम भेरी अफसेट’, ‘म त बोल्दा पनि बोल्दिन, चित्त दुखेको छ मेरो ।’
हिजोका सघन वार्ता र छलफलहरुमा यस्ता रोचक परिदृश्य अरु पनि देखिएका थिए । उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौला डेढ बजेसम्म प्रचण्ड र बाबुरामलाई संविधानसभाको म्याद थप्ने हो भने त्यो न्यायिक सिद्धान्त विपरीत हुन्छ, म्याद थपियो भने म राजीनामा दिन्छु भनिरहेका थिए । साँझ क्याबिनेट बैठक बस्ने बेलामा एमाले नेता ईश्वर पोख्रेल र सिटौला केही ढिलो प्रवेश गरे । त्यहाँ उनीहरुले फरक मतसहित म्याद थप्ने प्रस्तावमा सहमति जनाएका थिए । पोखरेलले प्रधानमन्त्रीको कार्यशैलीप्रति आलोचना गर्दै छलफलै गर्न नपाई यो परिस्थितिमा आइपुगेको बताएका थिए ।
उता दिउँसोसम्म प्रचण्ड र बाबुरामसमक्ष म्याद थपिएमा राजीनामा दिन्छु भनिरहेका सिटौला आफैंले साँझ परेपछि तीन महिना म्याद थप्ने प्रस्ताव संसद् सचिवालयमा दर्ता गराउनासाथ कांग्रेस सभापति सुशील कोइरालाले त्यसप्रति विरोध जनाएपछि सिटौला अप्ठ्यारोमा परेका छन् ।
संविधान घोषणा पनि नहुने र यस्तो पृष्ठभूमिमा १४ गते संविधानसभाको अप्राकृतिक अवसान हुने स्थितिमा त्यसले स्वतः व्यवस्थापिका संसदको रुप लिन सक्दैन । संविधान जारी भएपछि मात्र संविधानसभा संसदमा परिणत हुने कानुनी व्यवस्था छ । म्याद थपका निम्ति प्रस्ताव दर्ता गरिए तापनि संसद जोगाउन सहमति खोजिने र मिलेका बुँदाहरु सहितको प्रारम्भिक मस्यौदा जारी गरिने सम्भावना उत्तिकै छ ।