जसरी दमन घलेलाई बढुवा दिने र अझै केही समय सेनामा टिकाइराख्ने खेल तुहियो, त्यसरी नै अर्को एउटा बढुवाको खेल पनि खेर जाने भएको छ । गौरव चन्दको घरमा खाना खाएर राति ब्यारेक फर्कंदा नेपालगन्जको एउटा कोठामा आफूलाई थुनिदिएकोमा सोप्रति आक्रोश पोख्ने कर्णेल राजु नेपालीमाथि कोर्टमार्सलको प्रक्रिया चलिरहेका बेला उनलाई राजीनामा दिन लगाएर प्रदीप श्रेष्ठलाई रिक्त स्थानमा बढुवा दिने अभियान सुरु भएको थियो । यसनिम्ति गंगालाल हृदयरोग अस्पतालमा भर्ना गरिएका नेपालीलाई राजीनामा दिएमा सबैखालका कारबाहीबाट उन्मुक्ति दिने वचनसहित जेठ १ गते राजीनामा लेख्न लगाइयो । पछि केरमेट गरी ४ गते बनाइएको उक्त राजीनामा अहिले मन्त्रिपरिषद्मा स्वीकृतिका निम्ति पेस भएको छ । जसका निम्ति त्यो सब गरियो, उनी अर्थात् कर्णेल श्रेष्ठ अस्ति शुक्रबार नै उमेर हदका कारण घर गइसकेका छन् । सेनाको बर्दी बुझाएर घर गइसके पनि श्रेष्ठलाई बढुवाको फल चखाइने सम्भावना भने अझै टरिसकेको छैन किनकि यसअघि दीपक गुरुङलाई आठ दिनपछिको मितिमा बढुवा दिलाएर जागिरमा नै राखिएको नजिर नेपाली सेनासँग आलै छ ।
श्रेष्ठमाथि पनि विशेष कृपा हुनसक्ने सम्भावना किन पनि छ भने उनी प्रधानमन्त्री बाबुराम भट्टराईकी पत्नी हिसिला यमीका नातेदार मात्र होइनन्, दमन घले प्रकरणमा प्रम बाबुराम र प्रधानसेनापति छत्रमानबीच विशेष सम्बन्ध स्थापना गराइदिने पात्र पनि हुन् ।
उता संयुक्त राष्ट्रसंघमा काम गर्ने कर्णेल श्रेष्ठकी पत्नी सरु जोशीले भने प्रधानसेनापतिकी पत्नी कमला गुरुङ (कमला जर्साब) लाई विगत तीन महिनायता पटक–पटक फोन गरेको ग¥यै गरेर हैरान पारेकी थिइन् । श्रीमानको बढुवाका लागि कमलाबाट पनि छत्रमानसमक्ष विशेष सिफारिस जान्छ भन्ने आशले होला, उनी सधंै फोनमा कमलालाई भन्थिन्, ‘सेनाका पत्नीहरुका लागि जति चाहिन्छ, म संयुक्त राष्ट्रसंघबाट दिलाइदिन्छु ।’
कोर्ट अफ इन्क्वायरी गरिसकेको मानिसमाथि थप कारबाहीका निम्ति उपत्यका पृतनापति महेश कार्कीको संयोजकत्वमा गठित कोर्टमार्शललाई पंगु बनाउने गरी जुन राजीनामाको खेल सुरु भयो, त्यसले आगामी दिनमा सबैलाई सजिलो बनाइदिने सम्भावना छ । कोर्टमार्शलको सम्भावना देख्नेबित्तिकै राजीनामा गरिहाल्दा कारबाहीबाट बचिन्छ भने सबैले त्यसै गर्छन् । राजीनामा दिन लगाएर उन्मुक्ति दिन खोज्नुले नेपालीमाथि लगाइएको आरोप नै कमजोर थियो भन्ने पनि पुष्टि भएको छ ।